Logo
Logo
फनपार्क भ्रष्टाचार प्रकरण

विशेष अदालतको फैसला : पूर्वमन्त्री न्यौपानेसहित ९ जनालाई कैद र जरिबाना


7.6k
Shares

काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो बनाएर भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित ९ जनालाई विशेष अदालतले जरिबानासहित कैदको सजाय सुनाएको छ ।

तत्कालीन समाजकल्याण परिषदका अध्यक्षसमेत रहेका न्यौपानेसहित १४ जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको थियो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू शालिग्राम कोइराला र न्यायाधीश श्रीबलभद्र बास्तोलाको इजलासले ९ जनालाई भ्रष्टाचारमा दोषी ठहर गरेको हो । पाँच जनाले भने सफाइ पाएका छन् ।

अदालतका सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार ९ जनामध्ये पूर्वमन्त्री न्यौपानेलाई वर्ष ९ वर्ष ६ महिना कैद सजायसहित २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ जरिवाना सुनाएको छ ।

उक्त मुद्दामा दोषी ठहर भएका परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ जरिवाना सुनाएको छ भने उनले जरिवाना जति नै बिगो समेत भर्नुपर्ने फैसला सुनाइएको छ ।

परिषदका तत्कालीन सदस्य सचिव रविन्द्रकुमार यादव भन्ने रविन्द्र कुमारलाई ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ जरिवाना सुनाएको छ । उनलाई पनि जरिवाना जति नै बिगो भर्नुपर्ने फैसला हो ।

परिषदका तत्कालीन सदस्य मोहनराज शर्मा, मदनकुमार लाल कर्ण र हरि न्यौपानेलाई ८ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ जरिवाना सुनाएको छ ।

भृकुटीमण्डपको फनपार्क सञ्चालक रविन्द्रकुमार गुरूङलाई कैद नतोकिएपनि बिगो बमोजिम २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ जरिवाना सुनाएको छ । उनले जरिवाना जति नै बिगो पनि तिर्नुपर्ने हुन्छ ।

गुरुङ मनाङबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद निर्वाचित भएका हुन् । गुरूङले मनाङबाट सांसद जिते पनि उनीविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकाले सांसद पद निलम्बनमा छ ।

तत्कालीन कोषाध्यक्ष कुन्ज विहारी प्रसाद चौधरीलाई भने मृत्यु भएकाले कैद र जरिवाना तोकिएको छैन । तर, उनको परिवारबाट बिगो २ करोड ४३ लाख ६८ हजार ८०३ रूपैयाँ जफत गर्नुपर्ने फैसला छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले दोषी ठहर गरेको थियो ।

अख्तियारले फनपार्क सञ्चालनमा भ्रष्टाचार भएको भन्दै २०७५ माघ २१ मा १४ जनाविरूद्ध मुद्दा दायर गरेको हो । तीमध्ये ५ जनालाई अदालतले सफाइ दिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको ६० रोपनी जग्गा भाडामा लगाउँदा मापदण्ड र प्रकृयाविपरित निर्णय गरेको अख्तियारको आरोप थियो ।

न्यौपानेको नेतृत्वमा २०६९ भदौ २० गते बसेको कार्य संचालन समितिको बैठकले गरेको निर्णयबाट ३१ करोड ५२ लाख १७ हजार ६७५ रूपैयाँ राज्यलाई हानीनोक्सानी भएको अख्तियारको दावी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्