बारा । नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य दिनेश राईले राष्ट्रिय राजनीतिको नेतृत्व महिलाले लिनेगरी अगाडि बढनुपर्ने बताएका छन् ।
बाराको कोल्हवीमा आइतबार एकीकृत समाजवादीनिकट अखिल नेपाल महिला संघ समाजवादी (अनेमसंघ समाजवादी)को नगर स्तरीय महिला भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हरेक क्षेत्रमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर महिलाहरु अहिले हरेक क्षेत्रमा कम्तिमा पनि ५० प्रतिशत हुनु नै पर्छ’ राईले भने, ‘तपाईहरु अब राष्ट्रिय राजनीतिको नेतृत्व पनि गर्नेगरी राजनीतिमा सक्रिय हुन आवश्यक छ ।’
राजनीतिमा सक्रिय भएर बिभिन्न पदको नेतृत्व गरिरहेका महिला नेताहरु पुरुष नेताहरु भन्दा बढी जिम्मेवार, इमानदार, स्वच्छ देखिएको अनुभव उनले सुनाए । त्यसैले महिलाहरु मुलुकको मुल नेतृत्वमा आएमा राष्ट्रको समृद्धि अवश्य हुनेमा विश्वास व्यक्त गरे ।
अनेमसंघ समाजवादीको कोल्हवी नगर भेलाबाट टिका मैनालीको अध्यक्षतामा १९ सदस्यीय नगर कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मनोरमा चौधरी, सचिवमा विनिता चौधरी, सदस्यहरुमा परणिया चौधरी, सुष्मा ठोकर ग्यापक, रिता खडका, गिता मैनाली, सुमित्रा चौधरी लगायतका रहेका छन् ।
भेलामा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विभा कार्की, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी लगायतको विशेष सहभागिता रहेको थियो ।











