Logo
Logo

पूर्वमन्त्री बद्री न्यौपानेले रुँदै भने- सुकुम्बासी हुँ, त्यत्रो बिगो कहाँबाट तिरौं ?


3.7k
Shares

काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि पूर्वमन्त्री बद्री न्यौपानेले आफू निर्दोष रहेको दाबी गरेका छन ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले साढे ९ वर्ष कैद सजाय र साढे २ करोड जरीवाना सुनापछि मंगलबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले आफू निर्दोष रहेकाले सफाइ पाउनुपर्ने बताएका हुन् ।

फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालत जान आफूसँग एक रुपैयाँ पनि नभएको दाबी गर्दै पत्रकार सम्मेलनका बीचमा धरधरी रोएका उनले जनताले सहयोग गरे अदालत जाने बताए ।

उनले रुँदै भने– ‘पूर्णपाठ आएको ३५ दिनभित्र म जानुपर्छ । म सम्मानित अदालतमा न्यायका लागि जान्छु । तर मसँग् पैसा हुनुपर्‍यो नि ! कसैले माया गरे, जग्गा दिए । सहयोग गरे म जान्छु तर मसँग भएन भने मैले कहाँबाट ल्याउनु ? त्यत्रो पैसाको बिगो मैले कहाँबाट तिरौं ? कहाँ धरौटी राखाैं ? मसँग के छर ? सडकमा बसेको सुकुमवासी हुँ, मान्छे मेरो केही उपाय छैन । बद्रीलाई अन्याय भएको छ भनेर नेपाली जनताले सहयोग गरे जाने हो । नत्र म कहाँबाट जाने? ।’

उनले आफ्नो राजनीति सिध्याउने प्रयास भएको आरोप लगाए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको उनको भनाई थियो ।

समाज कल्याण परिषदले कार्यसमितिबाट निर्णय गरेर जग्गा भाडामा लगाउने गरेको भएपनि आफूले फूल बोर्डको बैठक राखेको र मन्त्रिपरिषद्मा समेत प्रस्ताव लगेको उनले बताए । मन्त्रिपरिषद्ले ‘परिषद् आफैंमा स्वसासित संस्था हो, यसअघि जे गरेको छ, त्यही अनुसार गर्नु’ भनेर आएपछि आफूले बोर्ड बैठक राखेर निर्णय गरेको उनले सुनाए ।

मन्त्री पदमा रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । सो मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको छ ।

न्यौपानेबाट जरिवाना तोकिएको रकमजति नै बिगो असुल गर्ने फैसला पनि विशेष अदालतले गरेको छ । न्यौपाने तत्कालीन माओवादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चुरे भावर पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्