Logo
Logo

निजी अस्पताल पोस्न कार्यकारी निर्देशकले बन्द गराए रेडियोथेरापी सेवा


1.3k
Shares

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा भोलि (बुधबार)देखि रेडियोथेरापी सेवा बन्द हुने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलले २०७९ फागुन १ गते नै रेडियसन अन्कोलोजी विभागलाई पत्र लेखेर चैत १ गते (भोलि) देखि सेवा बन्द गर्न निर्देशन दिएका थिए ।

रेडियोथेरापी सेवा बन्द हुने भएपछि हजारौं क्यान्सरका रोगी मर्कामा पर्ने भएका छन् । चिकित्सकहरूका अनुसार सामान्यतः क्यान्सरका बिरामीले पाँचदेखि सात सातासम्म रेडियोथेरापी गर्नुपर्छ । क्यान्सर भएका बिरामीलाई अप्रेसनअघि रेडियोथेरापी जरुरी हुन्छ । रेडियोथेरापीले ट्युमरको आकार घटाउने र अप्रेसन गर्न सजिलो बनाउने काम गर्छ ।

यस्तो सेवा रोक्ने अस्पताल प्रशासनको निर्णयप्रीत विरोध हुन थालेको छ । अस्पतालकै वरिष्ठ डाक्टरहरूसमेत सेवा रोक्न नहुने भन्दै आपत्ति जनाएका छन् । अस्पतालका पूर्वमेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्टेन्ट सर्जन प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ कुनै हालतमा यो सेवा रोक्न नहुने बताउँछन् ।

अस्पताल प्रशासनको यस्तो कामलाई निजी अस्पताल पोस्ने षड्यन्त्रका रूपमा धेरैले लिएका छन् । उनले रेडियोथेरापी सेवा बन्द गर्नु नहुने भन्दै अस्पताल विकास समितिका पदाधिकारीहरूलाई पत्र नै पठाएका छन् । अस्पतालले उक्त सेवा रोके बिरामीले गुणस्तरीय सेवाबाट वञ्चित हुने र निजी अस्पतालमा महँगो शुल्क तिर्नुपर्ने उनी बताउँछन् ।

‘इएचएस बन्द भए गरिब, निमुखा क्यान्सर बिरामीहरूलाई सस्तो, सुलभ र गुणस्तरीय सेवाबाट वञ्चित भई निजी अस्पतालमा महँगो शुल्कमा रेडियोथेरापी गराउनुपर्ने बाध्यता हुन्छ’, पत्रमा भनेका छन्, ‘केही व्यक्ति अस्पतालभित्र सञ्चालन भइरहेको इएचएस बन्द गराई निजी अस्पतालमा रेफर गरी कमिसनतन्त्र स्थापित गर्न चाहन्छन् ।’

फागुनअघिसम्म यो अस्पतालमा दैनिक करिब १२० जनाले यस्तो सेवा लिने गरेका थिए । भक्तपुर अस्पतालमा रेडियोथेरापी गरेको ७५ हजारदेखि १ लाख १५ हजार रूपैयाँसम्म शुल्क लाग्छ भने निजी अस्पतालहरूमा २ लाखदेखि ३ लाख ५० हजार रूपैयाँसम्म लिने गरेका छन् ।

सुरुको अवस्थामा पहिचान भएर उपयुक्त उपचार हुन सके रेडियोथेरापीबाट पूर्णरुपमा निको पार्न सकिने क्यान्सर रोग विशेषज्ञ बताउँछन । तर रेडियोथेरापी सेवा मुलुकका ठूला सरकारी अस्पताल वीर र शिक्षण अस्पतालमा पनि छैन । भक्तपुर क्यान्सर अस्पतालमा यो सेवा बन्द भएको पछि क्यान्सर बिरामीलाई ठूलो मर्का पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्