
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन गरिएकोे छ ।
‘कानुनले उपप्रमुख÷उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदानप्रदान गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो ।
सञ्जालले सामूहिक प्रयत्नमा क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्ने कार्यवाहक प्रमुख समेत रहेका डङ्गोलले बताए । पालिकाले उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित विषयमा क्षमता विकास गर्न, आपसी सीप र हित आदानप्रदान गर्न हरेक पालिकाले योजना र कार्यक्रम तर्जुमा गर्नुपर्नेमा उपत्यकाका उपप्रमुखको जोड छ ।
उपप्रमुखलाई प्राप्त कानुनी जिम्मेवारी पूरा गर्न संस्थागत संरचना, कानुनी क्षमताको अभावजस्ता समस्या छन् । काम गर्दागर्दै कही आफैँ मुद्दा मामिलामा पर्ने सम्भावना पनि छ । यस्ता साझा समस्यालाई साझा प्रयत्नबाट समाधान गर्न सञ्जालको ठूलो भूमिका रहने आज भएको बैठकमा उपत्यकाका उपप्रमुखको भनाइ छ ।
सञ्जालको बैठक हरेक महिना बस्ने निर्णय भएको छ । आगामी बैठक वैशाख १५ गते बुढानिलकण्ठ नगरपालिकाले आयोजना गर्नेछ । काठमाडौं उपत्यकामा दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिकासहित २१ स्थानीय तह रहेका छन् ।











