काठमाडौं । सरकारले यती एयरलाइन्सको टिआर विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय बुधबार पत्रकार सम्मेलन गरी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । उनले यती एयरलाइन्स विमान दुर्घटनासम्बन्धी छानविन आयोगको म्याद ४५ दिन थपिएको जानकारी गराएकी हुन् ।

गत १ माघमा काठमाडौंबाट पोखराका लागि उडेको यतीको एटीआर ७२ विमान ११ बजेतिर सेती नदीको खोंचमा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए ।
यस्तै, बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, नेपाल सरकारका मन्त्रीहरु र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने पनि निर्णय गरेको छ भने नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने सरकारले निर्णय गरेको छ ।
यस्तै, तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने, रामपुर स्वास्थ्य चौकी उदयपुरलार्य १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने दिनेलगायतका निर्णय भएको सञ्चारमन्त्री शर्माले जानकारी गराइन् ।











