
काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान १०–३ बजेसम्म संसद् भवनको लोत्से हलमा मतदान हुनेछ ।
वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल आज राति १२ बजेबाट सकिँदैछ । २५ फागुनमा रामचन्द्र पौडेललाई राष्ट्रपति चुनेको एक सातापछि उपराष्ट्रपति चुन्न आज मतदान हुन लागेको हो ।
उपराष्ट्रपति पदका लागि तीनजना प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमतकी ममता झा उन्नेदवार छन् । यता नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।
सत्ता गठबन्धनले उपराष्ट्रपतिमा सहमति जुटाउने प्रयास गरेपनि सफल भएन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले जनमतका झालाई छुट्टै अघि सारेका हुन् ।
जसपाबाटै वैकल्पिक रूपमा उम्मेदवारी दिएका प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेका छन् । यद्यपि, निर्वाचन कार्यक्रमअनुसार निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिएकाले उनको नाम मतपत्रमा तस्बिरसहित कायमै छ ।
लोत्से हलमा संघ र प्रदेश सांसदका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्रको व्यवस्थापन गरिएको छ । संघीय सांसदका लागि रातो र प्रदेश सभा सदस्यका लागि हरियो रङको मतपत्र तयार पारिएको छ । मतपत्रमा चारै जना उम्मेदवारको नाम र तस्बिर राखिएको छ ।
निर्वाचनमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)का ३३२ र प्रदेश सभाका ५५० गरि कुल ८८२ मतदाता छन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ मतभार रहेको छ । निर्वाचनमा ५२ हजार ६ सय २८ मतभार कायम छ ।
उम्मेदवार निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ । ५० प्रतिशत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित हुन बहुमत अर्थात् २६ हजार तीन सय १५ मत कटाउनुपर्छ ।
आठ दलीय गठबन्धनको ३२ हजार दुई सय ६७ मत छ । रामसहायको पक्षमा खुलेका सात दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्तिको मतभार ३१ हजार २५ छ ।
राष्ट्रपतिमा गठबन्धनकै उम्मेदवारलाई मत दिएको रास्वपा उपराष्ट्रपतिमा पनि यादवलाई सहयोग गर्ने रणनीतिमा छ । तर उसले औपचारिक निर्णय भने गरेको छैन । संसदमा रास्वपाको १ हजार ५०१ मत छ ।
ममता झालाई अघि सारेको जनमतको पक्षमा अहिलेसम्म आफ्नो दलको एक हजार दुई सय ४२ मत छ । एमालेकी अष्टलक्ष्मी शाक्यसँग १५ हजार तीन सय ९१ मत छ । दुई हजार चार सय ५० मत भएको राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ ।
यसबाहेक संसदमा नेमकिपासहित एक हजार १९ मत अनिर्णीत छ । निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ६ बजेभित्र परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।
सर्सर्ती हिसाब गर्दा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका रामसहाय यादव विजय हुने देखिन्छ । तर एमालेबाट उम्मेदवार बनेका अष्टलक्ष्मी शाक्यको पक्षमा मत क्रस भएर जाने डर पनि गठबन्धनमा देखिन्छ ।











