काठमाडौं । नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए ।
एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत पाए । उनलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् ।
जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई भने एक प्रदेशसभा सदस्यले मत दिएका छन् ।
यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छैन ।











