Logo
Logo
कला

‘आमाको इच्छा र मेरो रहरले गायनमा लागेकी हुँ’



मेलोडियस गायिका सुनिता कार्की पहिलोपटक आफ्नो गृहजिल्ला उदयपुरमा अवार्डेड भएकी छन् । दुई दशकभन्दा बढी नेपाली सांगीतिक क्षेत्रमा विताइसकेकी सुनिता जिल्लामै आयोजित ‘उदयपुर म्युजिक अवार्ड-२०७९’मा ‘बेस्ट फिमेल मोर्डन पप सिंगर’को अवार्डद्वरा अवार्डेड भएकी हुन् । ‘म पहिलोपटक आफ्नै गृहजिल्लामा अवार्डेड भएकी छु’, उदयपुर गाइघाटकी सुनिताले भनिन्, ‘आफ्नो गृहजिल्लामा यो पुरस्कार पाउँदा गर्व लागेको छ ।’

२०६७ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तिर्ण गरेपछि गायनलाई औपरिचारिक रुपमा अँगालेकी सुनिताले तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । ‘लभ विथ मी’, ‘सुनमाला’, ‘ए बतास’जस्ता एकल एल्बमकी गायिका सुनिताका ‘सँग सँगै काटौला’, ‘अटल बाचा गरेँ’, ‘ए बतास’ बोलका गीतहरु चर्चित छन् । टेलिभिजन कार्यक्रम प्रस्तोताको समेत अनुभव संगालिसकेकी गायिका सुनिता कार्कीसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
गीत रेकर्डिङ, विभिन्न स्टेज कार्यक्रमहरुमै व्यस्त छ्ु । त्यसका आलावा पढाइलाई पनि समय दिँदै आएकी छु । भर्खरै मास्टर सकाएँ । मैले शोसोलोजी र कमर्शमा एमबीए गरेँ । पढाइबाहेक गायनलाई नै समय दिएकी छु ।

तपाइँ केही वर्ष गायनबाट हराएको आभाष भयो । त्यस्तो किन भयो ?
म गायनबाट हराएकी छैन । गीत रेकर्डिङ गरिरहेकै छु । म तीन वर्ष नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेँ । त्यो समयमा पनि गीत गाइरहेकी नै थिएँ । चर्चामा मात्र नआएको हो, काम गरिरहेकै छु ।

तपाइँको पछिल्लो समय आएको गीत कुन हो ?
‘सँग सँगै काटौला जीन्दगी’ । यो गीत केही समयअघि मात्र युट्युबबाट सार्वजनिक गरेकी छु । यो मेलोडियस गीत हो । जसमा सिएल शर्माको शब्दरचना र नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । एक पटक युट्युबमा सर्च गरेर उक्त गीत हेर्न समेत यहाँहरुलाई म आग्रह गर्दछु ।

नयाँ गीतबाट प्रतिक्रिया कस्तो पाइरहुनुभएको छ ?
एकदमै राम्रो रेश्पोन्स आइरहेको छ । जतिले गीत सुने, हेरे, सबैबाट गीत राम्रो प्रतिक्रिया आइरहेको छ । मैले यस्तो राम्रो प्रतिक्रिया आउला भनेर सोचेको पनि थिएन । त्यसैले खुसी छु ।

गीतसंगीत क्षेत्रमा संघर्ष गर्नुभएको पनि धेरै नै भयो होइन त ?
धेरै भयो नि । २०६७ सालमा जब रेडियो नेपालबाट स्वर परीक्षा पास गरेँ, तब गायनलाई औपचारिक रुपमा अँगालेकी हुँ । त्यो हिसाबले दुई दशकभन्दा बढी भयो । गाउनचाहिँ स्वर परीक्षा दिनु अघिबाटै गाउँथे । तर, स्वर परीक्षा पास गरेपछि एल्बम निकाल्न सुरु गरेकी हुँ ।

त्यो एल्बम निकाल्ने चलनले गर्दा एल्बम ल्याउनुभएको हो ?
त्यो भन्दा पनि आफ्नो गीतको संग्रह गर्ने हिसाबले एल्बम निकालेकी हुँ । एल्बम बिक्री हुने चलन हराउँदै गएको थियो । अहिले त एल्बम निकाल्ने चलन नै छैन ।

गायनमा क्षेत्रमा पहिले र अहिले के भिन्न छ ?
धेरै नै भिन्न छ । र, सहज पनि । पहिले त एल्बम निकाल्नु पर्दथ्यो । गाह्रो हुन्थ्यो । अहिले त एउटा गीत गाएर भिडियो बनायो, युट्युबमा अपलोड ग¥यो, सकियो । तर, पहिले पहिले गीत प्रमोशन गर्न पनि पैसा खर्चिनु पर्दथ्यो । गीत बजाउनुलाई रेडियो टेलिभिजनलाई पैसा चाहिन्थ्यो । अहिले त्यो अवस्था छैन ।

तपाइँले कति वटा एल्बम निकाल्नुभयो ?
मैले पाँच वटा जति एल्बम निकालेँ । जसमा ‘लभ विथ मी’, ‘सुनमाला’, ‘ए बतास’लगायत रहेका छन् ।

तपाइँलाई चिनाउने गीत कुन हो ?
मलाई आफ्नो एल्बम ‘सुनमाला’ले नै गायिका सुनिता कार्की भनेर चिनाएको हो । उक्त एल्बमबाट मैले हिटुस एफएम म्युजिक अवार्ड समेत पाएकी थिएँ । मिति ठ्याक्कै थाहा भएन, २०७० सालतिर हुनुपर्छ, ‘सुनमाला’ ‘बेस्ट एल्बम अफ द इयर’ बनेको थियो । र, पछिल्लो समय मैले गाएको नेपाली फिल्म ‘कृष्णलीला’को ‘अटल बाचा’ पनि हिट भयो । जुन गीत टिकटकमा भाइरल नै बन्यो ।

अहिलेसम्म कति गीत गाउनुभयो ?
तीन दर्जनभन्दा बढी गाएकी छु । त्यसमा आफ्नो मात्र दुई दर्जन रहेका छन् । अन्यचाहिँ अरुहरुको कलेक्शन एल्बममा गाएकी हुँ । अहिले पनि गाइरहेकै छु ।

गीतसंगीत क्षेत्रमा किन रोज्नुभयो ?
म सानैदेखि गाउँथेँ । मैले १० कक्षासम्म गाइघाटमै पढेकी हुँ । स्कुल पढ्दा स्टेज कार्यक्रममा गाउँथे । मेरो आमा पनि गीत गाउनु रुचाउँनु हुन्थ्यो । सधैं गुनगुनाइरहनु हुन्थ्यो । आमाको इच्छा र मेरो रहरले गायनमा लागेकी हुँ ।

टेलिभिजनमा कार्यक्रम पनि चलाउनुहुन्थ्यो, किन छाड्नुभयो ?
गायन र पढाइको व्यस्तताले गर्दा छाडेकी हुँ । मैले नेपाल टेलिभिजनमा तीन वर्ष कार्यक्रम प्रस्तोताको रुपमा काम गरेँ । फेरि पनि एउटा राम्रो कार्यक्रम चलाउने सोच बनाउँदै छु ।

अब त घरजम गर्ने बेला भयो नि होइन त ?
बेला त भयो । तर, भनिन्छ नि, घरजम भनेको समय आएपछि हुन्छ । तर, मेरो त्यो समय आएको छैन । अर्को कुरा, त्यसतर्फ मैले सोचेको पनि छैन । एकदिन त अवश्य घरजम गर्नुपर्छ ।

प्रेम प्रस्ताव कतिको आउँछ ?
आउँछ । अहिलेको जमानामा प्रेम प्रस्ताव आउनुलाई अनौठो मान्नु हुँदैन । शोसल मिडियाको जमाना छ । प्रेम प्रस्ताव आउनुलाई सकारात्मक रुपमा लिन्छु किनकि त्यो मेरो गीतसंगीत रुचाउँनेहरुको प्रेम सम्झिन्छु ।

प्रतिक्रिया दिनुहोस्