
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । १४ वर्ष पछि स्ववियुले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
मतदान आइतबार बिहान ८ बजेदेखि मतदान सुरु हुने तय भए पनि केही समय ढिला सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयका केही कलेजहरूमा भने अझै पनि मतदान सुरु हुन सकेको छैन ।
निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।
प्रत्येक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।
उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सररस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जीनियरिङ क्याम्पस, पुल्चोक इञ्जीनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यन्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।











