
काठमाडौं । मन्त्रीपरिषदलाई पूर्णता दिन आजदेखि दलहरूले छलफल सुरु गर्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत लिइसकेकाले आजबाट दलहरू सरकारलाई पूर्णता दिने विषयमा छलफलमा जुट्न लागेका हुन् ।
सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दिने बताएका थिए । उनले सरकारलाई पूर्णता दिन समर्थन गरेका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।
‘जोजो दलहरूसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २–४ दिनभित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ,’ उनले भनेका थिए ।
उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब आराम ढंगले सरकारले काम गर्ने बताएका थिए । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ ।











