Logo
Logo

गृह वा अर्थसहित तीन मन्त्रालयमा एकीकृत समाजवादीको दाबी


14.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए लगत्तै सरकारमा सहभागी हुने दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल तिब्र छ ।

सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकारलाई पूर्णता दिने दिने बताएका थिए । उनले सरकारलाई पूर्णता दिन समर्थन गरेका सबै दलहरूसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने बताएका थिए ।

सरकारमा जान नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीले निर्णय गरिसकेको छ । एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले सरकार गठनको प्रक्रियामा गृहकार्य गर्न अध्यक्ष नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल गठन गरेको हो ।

उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको छ । कार्यदलले गठबन्धनका अन्य दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट का–को सरकारमा जाने भन्ने विषयमा छलफल गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको एकीकृत समाजवादीले तीन मन्त्रालयमा दाबी गरेको छ । तर, कुन–कुन मन्त्रालय लिने भन्नेबारे निष्कर्षमा पुग्न बाँकी छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार कार्यदलको प्रारम्भिक छलफलमा जनतासँग जोडिएर काम गर्ने मन्त्रालय आफूले लिनुपर्ने सुझाव आएको छ । स्रोतका अनुसार त्यसरी जनतासँग जोडिएर काम गर्नका लागि अर्थ, गृह, कृषि, उर्जा तथा सिँचाइ र युवा तथा खेलकुदमध्येबाट तीनवटा दाबी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्