Logo
Logo

संघीय सरकार पुनर्गठन हुन्छ : प्रधानमन्त्री


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पुनर्गठन तयारी भइरहेको बताए । मंगलबार गोरखा पुगेर २० किलोमिटर लामो सडक शिलान्यास गरेका प्रचण्डले प्रदेश सरकारमा आलोपालो तयारी भएको पनि बताए ।

‘सरकार गठन पुनर्गठन गर्ने कुरामा छलफल भइरहेको छ, प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल हुँदैछ । जनताको विकास निर्माण समृद्धिको आकांक्षा सम्बोधन गर्न एकीकृत रूपमा काम अघि बढाउन, केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय गर्न बृहत्तर बैठक राख्दै छु, त्यसमा देशभरको विकासलाई कसरी गति दिने गम्भीर छलफल हुन्छ’, उनले भने ।

पालुङटार नगरपालिकास्थ्ति पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यासमा सम्बोधनका क्रममा प्रचण्डले संसदबाट विश्वासको मत पाइसकेपछि अब राजनीतिक वातावरणले लय पक्रिएको दाबी गरे ।

‘हिजोबाट फेरि राजनीतिक वातावरणले लय पक्रिएको छ । सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गोरखा पुगेका थिए ।

प्रचण्डसँगै गोरखाबाट निर्वाचित कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे पनि साथमा थिए । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्