Logo
Logo

उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार हुन्छ : निधि



काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख १० मा हुने उपनिर्वाचनमा पनि सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय गरिने बताएका छन्।

सप्तरीमा मंगलबार भएको एक कार्यक्रममा बोल्दै उनले गठबन्धन भित्र छलफल गरेर कतै नेपाली कांग्रेसबाट त कतै अन्य पार्टीबाट हुने गरी साझा उम्मेदवार तय गरिने बताएका हुन्। वैशाख १० मा चितवन क्षेत्र नम्बर २, बारा क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ। यी ठाउँमा सत्ता गठबन्धनबाटै साझा उम्मेदवार तय गरेर चुनावमा जाने निधिको भनाइ छ।

उनले दुईरतीन दिनभित्र केन्द्रमा अहिलेकै सरकार बिस्तार हुने र त्यसपछि प्रदेशहरूमा पनि गठबन्धनबाटै सरकार बन्ने बताए। निधिले कांग्रेस र माओवादीसहित अहिलेको सत्ता गठबन्धनलाई कसैले हल्लाउन नसक्ने दाबीसमेत गरेका थिए। ‘सरकार मात्र होइन अहिलेको संसद पनि ५ वर्ष चल्छ,’ उनले भने, ‘कुनै पनि बाहनामा प्रतिनिधि सभा विघटन हुँदैन।’

उनले गठबन्धनबाट पाँच वर्षभित्रमा तीन जना प्रधानमन्त्री बन्ने सहमति बनेको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्