Logo
Logo

बाबुराम भट्टराईको पार्टीबाट पनि एकजना मन्त्री बन्ने 


9.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला सरकार विस्तारको तयारीमा जुटेका छन् ।

गत सोमबार विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले चार दिनभित्रै सरकार विस्तार गर्ने बताएका थिए । सोहीअनुसार उनले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन दलहरूसँग छलफल थालेका छन् ।  

कसलाई मन्त्री बनाउने र कुन–कुन मन्त्रालयमा दाबी गर्ने भन्ने विषयमा गठबन्धनमा आवद्ध दलहरूमा पनि आन्तरिक छलफल भइरहेको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालय दाबी गरिरहेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले तीन÷तीन मन्त्रालय दाबी गरिरहेका छन् । 

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि पुनः सत्ताकै दाउमा छ । यसअघि नागरिकता प्रकरणमा दोषी ठहर भएका रास्वपा सभापति रवि लामिछानेले गैरसांसदकाे हैसियतमा गृहमन्त्रालय नपाएपछि पार्टीका अन्य मन्त्रीहरूलाई फिर्ता बोलाएका थिए । उसले पुनः ३ देखि ४ मन्त्रालयमा दावी गरिरहेको छ ।

यस्तै साना दलहरू नागरिक उन्मुक्ति, जनमत, आम जनता पार्टी, नेपाल लोकतन्त्र समाजवादी पार्टी लगायतले पनि महत्वपूर्ण मन्त्रालय दाबी गरिरहेका छन् ।  

नेसपाबाट अध्यक्ष महेन्द्र यादवलाई मन्त्री बनाउन अर्का अध्यक्ष बाबुराम भट्टराईले पहल नै थालेका छन् । त्यसका लागि भट्टराईले सत्ता गठबन्धन दलका सबै शीर्ष नेताहरूलाई भेटेर कुरा गरिरहेका छन् । 

नेसपाले एउटा मन्त्रालय पाउने नेपाली कांग्रेसको केन्द्रीय सदस्य रामहरि खतिवाडा बताउँछन् । उनी भन्छन्– ‘मधेशवादी पार्टीहरूबाट एक÷एक जना मन्त्री हुनेछन् । बाबुराम जीको पार्टीबाट पनि एकजना, स्वतन्त्रबाट एक जना मन्त्री बन्नेछन् । कांग्रेसको ८ जनाभन्दा बढी हुन्छे सम्भावना देखिँदैन ।’

नेसपाले एउटा मन्त्रालय पाउने भएपछि यादव मन्त्री हुने पक्का जस्तै छ । उनी, मन्त्री भइरहने नेतामा पर्दछन् । पहिलोपटक २०५४ मा एमालेबाट राज्यमन्त्री बनेर उनले सत्ता यात्रा थालेका थिए । त्यसपछि उनले २०६४ सालमा सिँचाइ मन्त्रालय, २०६७ मा उद्योग मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

ओलीको संसद् विघटनपछि ०७८ सालमा बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि तथा पशुपंक्षी विकास मन्त्री थिए । यसपटक यादव मन्त्रीमा दोहोरिने निश्चित जस्तै छ ।
 

प्रतिक्रिया दिनुहोस्