काठमाडौं । काठमाडौंको चक्रपथ चाबहिल महाराजगञ्ज सडकखण्डस्थित चप्पल कारखानास्थित बिहीबार दिउँसो चार वटा सवारी साधन आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा परी ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार बिहीबार दिउँसो करिब सवा २ बजेतिर एउटा कारले तीन वटा मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको थियो ।
घाइतेमध्ये एक जनालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अरूलाई ह्याम्स अस्पताल लगिएको छ । दुर्घटनामा अन्य केही सवारी साधनमा पनि क्षति भएको प्रहरील जनाएको छ । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











