Logo
Logo

मर्चवारी गाउँपालिकाका पुर्वअध्यक्षको ९१ लाख ८६ हजार स्रोत नखुलेको सम्पति


819
Shares

काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बानियाँविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बानियाँविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बानियाँ १४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका थिए । ९ वेशाख २०७९ सम्म पदमा रहेको उनमाथि अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो ।

पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिएवापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको अख्तियारले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

यही अवधिमा वानियाँले १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा खर्च र लगानी गरेको पाइएको अख्तियारले जनाएको छ । जसमा छोराहरुको अध्ययन खर्चदेखि घर निर्माण खर्च र परिवारको नाममा रहेको मौज्दातसमेत समावेश गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बानियाँको वैधानिक आयभन्दा ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बढी रकमको स्रोत नखुलेको देखिएको छ ।

बानियाँ र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको जग्गालगायतका चलअचल सम्पत्ति आफ्नो र छोराहरुको नाममा जोडेको देखिएकाले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्