काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेविरूद्ध भित्री कारोबारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
रिडीको अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेको पाइएको थियो ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले पदमा बहाल रहँदासम्म त्यो संस्था वा कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन् ।
यी पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ ।
न्यौपाने आफू अध्यक्ष हुँदा रिडी हाइड्रोपावर कम्पनीको शेयर किनबेच सम्बन्धमा अध्ययन गर्न २०७८ कात्तिक २९ मा बोर्डका कायममुकायम उपकार्यकारी निर्देशक अम्बिकाप्रसाद गिरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो ।
समितिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट प्राप्त विवरण र कागजातको विश्लेषणपछि न्यौपाने तथा उनका परिवारिक सदस्यले उक्त कम्पनीको शेयर दोस्रो बजारमा कानून विपरीत किनबेच गरेको पत्ता लगाउँदै उनीहरूमाथि अधिकतम कारबाहीको सिफारिशसहित प्रतिवेदन २०७८ पुस ६ गते बोर्डमा बुझाएको थियो ।
प्रतिवेदनमा न्यौपानेले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम ३८ को उपनियम १(क) मा भएको व्यवस्था तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) विपरीत आफू अध्यक्ष रहेको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरहरू दोस्रो बजारमा खरीद–बिक्री गरेको औंल्याउँदै उनलाई धितोपत्र बोर्ड सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम कारबाही गर्न सिफारिश गरिएको थियो । उक्त उपदफा अनुसार बोर्डले रु.२५ हजारदेखि ७५ हजारसम्म जरिवाना गराउन सक्ने उल्लेख छ ।











