Logo
Logo

 संसद् छिर्ने उपेन्द्रको दाउमा सिके राउत नै बाधक !


5.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका निर्वाचित सांसद रामसहायप्रसाद यादव गत शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भए । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित रामसहाय उपराष्ट्रपति निर्वाचित भएसँगै सोही क्षेत्रबाट उपनिर्वाचनमार्फत जसपा यादव संसद् छिर्ने दाउमा छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा सप्तरी– २ बाट उम्मेदवार थिए । तर, उनलाई जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ९सीके०ले संसद् छिर्नबाट रोकिदिए । नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार बनेका यादव सिके राउतसँग भारी मतान्तरले पराजित भए ।

कांग्रेस नेतृत्वको तत्कालीन पाँच दलीय चुनावी गठबन्धनबाट सिट बाँडफाँडमा कुरा नमिल्दा यादव गठबन्धन बदल्दै एमालेको साथमा पुगेका थिए । तर, एक्लै चुनावी मैदानमा उत्रिएका सिके राउतले उपेन्द्रलाई १८ हजार भन्दा बढी मतान्तरले पराजित गरिदिए । 

सिके राउतले संसद् छिर्नबाट रोकेपछि उपेन्द्रलाई छटपटाहट भयो । संसद् छिर्नकै लागि उपेन्द्र एमालेसँगको गठबन्धन तोडेर फेरि कांग्रेससहितको पुरानै गठबन्धनमा फर्किए । 

आफ्नो पार्टीबाट उपराष्ट्रपति बनाएर मधेसको एक सिट खाली गराउने उनको रणनीति थियो । उपेन्द्रको रणनीति असफल पार्न सिके राउतले अन्तिमसम्म नै प्रयास गरे । सत्ता गठबन्धनमै रहेका सिके राउतले उपेन्द्रलाई रोक्न आफ्नो पार्टीबाट उपराष्ट्रपति उम्मेदवार नै खडा गरे । तर कांग्रेस, माओवादी, नेकपा एस र जसपाको अगाडि सिके राउतको केही चलेन ।

जसपाका उम्मेदवार रामसहाय उपराष्ट्रपति निर्वाचित भए । रामसहाय उपराष्ट्रपति निर्वाचित भएसँगै बारा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ खाली बनेको छ । खाली रहेको सोही क्षेत्रबाट उपनिर्वाचनमार्फत उपेन्द्र संसद् छिर्ने दाउमा छन् । 

अहिले जसपा र जनमत पार्टी एउटै गठबन्धनमा छन् । मधेस प्रदेश सरकारमा पनि दुवै दल सहकार्य गरेका छन् । तर, उपेन्द्रलाई संसद् छिर्न यो पटक पनि सिके राउत नै बाधक हुन सक्छन् । सिके राउतले बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्रलाई हराउने उद्घोष नै गरिसकेका छन् । उनले उपेन्द्र चोर बाटोबाट संसद्मा प्रवेश गर्न खोजेको आरोप लगाउँदै आएका छन् । 

उपेन्द्रलाई यसपटक पनि हराएरै छाड्ने सिके राउतको दाबी छ । सिके राउतले बारामा पनि उपेन्द्रको विरुद्धमा पार्टीले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले गढीमाइको दर्शन गरेर ‘मिसन–२’ सुरुसमेत गरेका छन् । 

सिके राउत नेतृत्वको जनमत, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति र महन्थ ठाकुरको लोसपाले उपराष्ट्रपति निर्वाचनमा गरेको घेराबन्दीले आसन्न उपनिर्वाचनबाट उपेन्द्रलाई निर्वाचन जित्न भने सजिलो देखिँदैन । 

प्रतिक्रिया दिनुहोस्