Logo
Logo

जुवाखालबाट अर्बपति बैंकर पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, १९ कात्तिक । तिहारको लक्ष्मीपूजाको अघिल्लो दिन बेलुका काठमाडौं प्रहरीले एउटा भिआईपी जुवा अखडामा छापा हान्यो । पाँच तारे होटलका क्यासिनो भन्दा ठूलो त्यो जुवाखालबाट ठूलो परिमाणमा नगद मात्र बरामद भएन, पक्राउ परेका व्यक्तिहरु पनि ठूलै थिए ।

महाराजगञ्जस्थित बिक्रम गौतमको घरमा कौडा खेलाइरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट दुई करोड ६७ लाख रुपैयाँ नगद बरामद भयो । जुन पैसा गन्न मात्र प्रहरीलाई तीन घन्टा लागेको थियो ।

पक्राउ पर्नेहरु पनि हाईप्रोफाइल नै थिए । जसमध्ये एक बैंकर समेत छन् । सनराइज बैंकका सबैभन्दा ठूला शेयरहोल्डर तथा पूर्व सञ्चालक श्रवणकुमार गोयल पनि सोही जुवाखालमा पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनले आफ्नो नाम सुमन अग्रवाल भनेर ढाँटेका थिए । पछि प्रहरीले कागजपत्र मागेपछि उनको वास्तविक पहिचान खुलेको हो ।

गोयल अर्बपति व्यापारी हुन् । उनी बालुवाटारको जग्गा प्रकरणमा समेत मुछिएका व्यक्ति हुन् । जसमा सिआईबी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि समेत अनुसन्धान गरिरहेको छ ।

त्यस्तै चर्चित ट्राभल व्यवसायी पवित्र कुमार कार्की समेत त्यही समातिएका थिए । क्यासिनो किङ बलेदेखि मिटरब्याजी सोवित सिलवाल समातिएको सो अड्डामा सबैजसो करोडपतिहरु नै थिए । उद्योग वाणिज्य महासंघ दोलखाका पूर्व अध्यक्ष इन्द्र श्रेष्ठ पनि त्यही थिए । सुन तस्करी प्रकरणमा मुछिएका पवन गुप्ता समेत त्यहाँ कौडा खेल्न गएका थिए ।

सबै पावरफुल भएकाले बन्दी प्रत्यक्षीकरणको रिटमार्फत छुट्ने उनीहरुको विश्वास थियो । तर सफल भएनन् । १० दिन हुँदा पनि उनीहरु छुट्न सकेका छैनन् । प्रहरीले छिटो मुद्दा बुझाउन नमानेपछि उनीहरुले काठमाडौंका सिडिओ जनकराज दाहाललाई आर्थिक प्रस्ताव राखेको स्रोत बताउँछ ।

अझ उनीहरुमाथि अर्काे आपत् आइलागेको छ उनीहरु सबैको सम्पत्ति समेत छानबिन हुने भएको छ । स्रोत नखुलेको पैसाले जुवा खेलेकाले उनीमाथि छानबिन हुन लागेको हो । जिल्ला प्रशासन कार्यालयबाट छुटेलगत्तै उनीहरुलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।

पक्राउ परेकाहरु रामकृष्ण केसी, रञ्जन भण्डारी, अशोक श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ, कृष्णहरि भण्डारी, सोहेल कार्की, गेल्जे लामा, धावा लामा, मुक्ति लामा, शम्भुबहादुर बुढाथोकी, प्रेम थापामगर, बुद्ध लामा, साङ्बु शेर्पा, होमप्रसाद चौलागाईं, लक्ष्मण तामाङ, प्रदीप बोगटी, श्यामप्रसाद पराजुलीहरु समेत सम्पत्ति शुद्धिकरणको फन्दामा पर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्