
काठमाडौं । वरिष्ठ सञ्चारकर्मी एवम् रेडियो नेपालका पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । बिहीबार राति ८६ वर्षको उमेरमा उनको न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनी क्यान्सर रोगले पीडित थिए । २०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेका थिए ।
रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर गएका उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो । रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएका उनका थुप्रै प्रशंसक बनेका थिए ।











