काठमाडौं, १९ कात्तिक ।
बलात्कार प्रयास मुद्दामा अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले सोमबार उनलाई थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
सोमबार थुनछेक बहस सकिएपछि अदालतले यस्तो आदेश दिएको हो । उनलाई सोमबारै डिल्लीबजार कारागार पठाइएको छ । महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । ‘गरिमामय पदमा आसीन प्रतिवादी कृष्णबहादुर महराले आफ्नै कार्यालयमा कार्यरत महिलालाई जबर्जस्ती करणी उद्योगजस्तो गम्भीर प्रकृतिको कसुर गरेको भनी निजउपर लगाइएको अभियोग उक्त अभियोग प्रमाणित भएको अवस्थामा कानुनबमोजिम निज प्रतिवादीलाई हुन सक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्य्विधि संहिता ऐन २०७४ को दफा ६७ मा भएको कानुनी व्यवस्थासमेतको आधारमा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल निज प्रतिवादीलाई प्रस्तुत मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न उक्त संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई डिल्लीबजार कारागार पठाइदिनू,’ अदालतको आदेशमा भनिएको छ । संसदकै एक कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा गत १९ असोजमा उनी पक्राउ परेका थिए ।

सामान्यतः ‘भिआइपी अभियुक्त’हरूले डिल्लीबजार कारागार नै रोज्ने गर्छन् । अन्यत्रभन्दा आफन्तहरूसँग भेटघाट सहज हुने भएकाले धेरैले डिल्लीबजार रोज्ने गरेका हुन् ।
सदरखोरका नामले चिनिने डिल्लीबजार कारागारमा दुई ब्लक छन् ।
यसमध्ये क ब्लकमा महरा बसेका छन्, जहाँ करिब ४५० जना कैदीरबन्दीहरू छन् । क ब्लकमा रहेका पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्व्डिआइजी रञ्जन कोइराला महराका ‘रुममेट’ बनेका छन् ।
ठकुरी र कोइराला बस्दै आएको कोठामा महरालाई राखिएको छ । ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् । सर्वाेच्च अदालतले दोषी ठहर गरेपछि पनि लामो समय फरार रहेका उनी गत १९ असारमा सर्वाेच्चमा उपस्थित भएका थिए । उनलाई सर्वाेच्चले एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको थियो ।
सशस्त्र प्रहरीका पूर्व्डिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । ठकुरी र कोइराला बस्ने कोठा तुलनात्मक रूपमा सुविधासम्पन्न भएकाले महरालाई त्यहीँ राखिएको स्रोत बताउँछ ।
जेलमा सबै कैदीरबन्दीलाई एउटै सुविधा हुने र महरा पनि संयुक्त कोठामै बसेको डिल्लीबजारका जेलर अरुण पोखरेलले बताए । ‘जेलमा सबैलाई एउटै सुविधा हुन्छ,’ उनले भने, ‘उहाँलाई पनि अरूसँग ठूलो कोठामा राखिएको छ ।’
जेलमा कैदीरबन्दीहरूले जेलकै आन्तरिक प्रशासनको आदेश मान्नुपर्ने हुन्छ । सोही कारागारको ख ब्लकमा निलम्बित सांसद रेशम चौधरीसमेत छन् । ख ब्लकमा करिब एक सय ५० कैदीरबन्दी छन् । डिल्लीबजार कारागारका दुवै ब्लकमा क्षमताभन्दा ५० प्रतिशत धेरै कैदीरबन्दी छन् । जेल चलान भएपछि महराका अब दुई विकल्प छन् । पहिलो साधारण तारेखमा छुट्नका लागि उच्च अदालत जाने वा मुद्दाको फैसला नभएसम्म जेलमै बस्ने । उनका वकिलहरू उच्च अदालत जाने तयारीमा छन् ।












