काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म नेपालका कुनै राजाहरु पनि गतिला नभएको टिप्पणी गरेका छन् । ‘राजा आऊ देश बचाऊ’ भनेर राजतन्त्र पुर्नस्थापित गर्नुपर्छ भन्दै बैठकहरू हुने गरेको भन्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

शुक्रबार एकीकृत समाजवादीनिकट भूपू सैनिकहरूको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तत्कालीन राजाहरू भ्रष्टाचारबाट मुक्त, सुशासनका पक्षपोषक र त्यागी नभएको पनि बताए ।
अध्यक्ष नेपालले भने, ‘अहिले तपाईं देखिरहनुभएको छ, राजा आऊ, देश बचाऊ भनिरहेका छन् । राजतन्त्रलाई पुर्नस्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ । तिनका बैठक बसेका छन् । के नेपालमा राजा कुनै गतिला छन् ?’ राजा आएर उनीहरूले अब विकास निर्माणलगायत काम गर्न नसक्ने उनको जिकीर छ ।
‘राजाहरू भ्रचाटारबाट उन्मुक्त छन् ? सुशासनका पक्षपोषक छन ?’ अध्यक्ष नेपालले पारस शाहप्रति लक्षित गर्दै भने, ‘यहाँ जोगी सन्यासी भएर आएका छन् । छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर । तर, नझुक्किनुस्, दारी पालेर जोगी होइन त्यो भोगी हो ।’











