Logo
Logo

अधिकार माग्दा ज्यान लिनु निन्दनीय : अशोक राई


1.2k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको ज्यान लिने शृंखलाको कडी थपिनु न्दिनीय रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता राईले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको र अहिले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा पनि शृंखला जारी रहेको बताए ।

‘हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं । तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ । यो निन्दनीय छ’, नेता राईले भने, ‘यस किसिमका दुखद घटनाहरुको शृंखलाहरुको अन्त्य कहीं पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम मधेश जनविद्रोहमा ५९ जनाको निधन भएको थियो ।’

यस्तै नेता राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

सो विरोधको क्रममा भएको आन्दोलनमा पदमकुमार लिम्बुको टाउकोमा गम्भीर ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा १० चैतमा पदमबहादुर लिम्बुको निधन भएको थियो । कोशी प्रदेश नाम खारेजी, लाजेहाङलाई सहिद घोषणा, क्षतिपूर्ति र छानबिन गरी दोषिलाई कारबाही नभएसम्म लाजेहाङको शव समाधिष्ट (अन्त्यष्ठि) नगर्ने प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्