Logo
Logo

संसद्‌मा आर्थिक मन्दिदेखि पहिचानसम्मका मुद्दा

‘गणतन्त्रमा पनि पहिचान माग्नेको हत्या’


1.1k
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो आन्दोलनका क्रममा घाइते भई निधन भएको लाजेहाङ लिम्बु (पदम लिम्बू)को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराईन् ।

उनले स्व लिम्बूलाई शहीद घोषणा गर्न र निजका परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत माग गरिन् । यो राजनीतिक विषय भएकाले सबै राजनीतिक दलको चासोको विषय हुनुपर्ने सांसद राईको भनाइ थियो ।

यस्तै, सांसद राईले प्रदेशको नामाङ्कन गर्दा पहिचानको आधारमा हुनुपर्छ भन्ने दलका नेताहरु अहिले लुकेर बसेको टिप्पणी समेत गरिन् । सांसद राईले प्रदेश-१ को नाम कोशी राखेर पहिचान मेट्न खोजेको अरोप समेत लगाईन् ।

‘प्रदेश १ को नाम किन हतार-हतार खोलाको नाम राखियो ?, उनले प्रश्न गरिन्, ‘पहिचान त मानवको लागि थियो । खोलाले पहिचान मागेको थिएन । पहिचान पनि भेटिने शान्ति पनि मेटिने र बहुपहिचानको आधारमा नाम हुनुपर्छ भन्ने नेताहरुले अहिले कहाँ छन् ? खोज्नु जरुर छ । जनताले खोज्नेछन् ।’

त्यस्तै, जनता समाजवादी पार्टीका नेता अशोक राईले गणतन्त्र र संघीय व्यवस्थामा पनि पहिचान माग्नेहरुको ज्यान लिने शृंखलाको कडी थपिनु न्दिनीय रहेको बताएका छन् ।

नेता राईले संविधान जारी गर्ने बेलामा मधेशमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको र अहिले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा पनि शृंखला जारी रहेको बताए ।

‘हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं । तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ । यो निन्दनीय छ’, नेता राईले भने, ‘यस किसिमका दुखद घटनाहरुको शृंखलाहरुको अन्त्य कहीं पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम मधेश जनविद्रोहमा ५९ जनाको निधन भएको थियो ।’

यस्तै नेता राईले प्रदेश नम्बर १ को नाम कोशी नाम राखिएपछि भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सहिद घोषणा गर्न माग गरेका छन् । सो विरोधको क्रममा भएको आन्दोलनमा पदमकुमार लिम्बुको टाउकोमा गम्भीर ढङ्गले चोट लाग्न पुगेको र उनको मृत्यु भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधरहरुले गरेको आन्दोलनका क्रममा १० चैतमा पदमबहादुर लिम्बुको निधन भएको थियो । कोशी प्रदेश नाम खारेजी, लाजेहाङलाई सहिद घोषणा, क्षतिपूर्ति र छानबिन गरी दोषिलाई कारबाही नभएसम्म लाजेहाङको शव समाधिष्ट ९अन्त्यष्ठि० नगर्ने प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले जनाएको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पारित हुन्छ र संसदीय समिति कहिले गठन हुन्छ भनी प्रश्न गरे । साथै उनले प्रधानमन्त्री एक्लैले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा जनचासोका विषय कसरी प्रभावकारीरुपमा सम्बोधन होलान् भने ।

सांसद डाँगीले झापाको भद्रपुर अस्पतालमा कतिपय कर्मचारीको दरबन्दी रिक्त रहेकाले र जनताले सेवा पाउन कठिनाइ भएको बताउँदै प्रभावकारी सेवा प्रदान गर्नका लागि उचित व्यवस्था गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले मुलुकमा आवश्यक रोजगारीका अवसर नहुँदा कामको खोजीमा लाखौँ युवा विदेशिन बाध्य भएको बताउँदै रोजगारीका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका सांसद नवलकिशोर साह सुडीले मुलुकको ठूलो जनसङ्ख्या कृषि पेशामा आबद्ध रहे पनि राज्यबाट उचित राहत पाउन नसक्दा र समयमै मल र बिउ पाउन नसक्दा अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताए । साथै उहाँले लाखौँ नेपाली नागरिकताबाट बञ्चित हुनुपरेको अवस्थामा नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पबाट स्थानीयको घरमा भएको क्षतिका सम्बन्धमा हालसम्म क्षतिपूर्ति पाउन नसकेकाबारे सरकारको ध्यानाकर्षण गराए । साथै उनले बेमौसमी वर्षाले भएको धनजनको क्षतिका सम्बन्धमा जनताले हालसम्म पनि उचित क्षतिपूर्ति पाउन नसकेको बताउँदै तत्काल माग सुनुवाइका लागि आग्रह गरे ।

जनमत पार्टीका सांसद डा चन्द्रकान्त राउतले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने भावना रहे पनि उपराष्ट्रिपतिको निर्वाचनमा महिलाको प्रतिनिधित्व हुन नसकेको गुनासो गरिन् ।

बैठकको विशेष समयमा नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले राज्यका निकायको काम गर्ने शैली हेर्दा माग राखेरै आफ्नो सांसदको कार्यकाल सकिने हो कि भनी चिन्ता व्यक्त गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न खुला सिमानालाई व्यवस्थित गर्न माग गरिन् ।

यस्तै, प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ ।

प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताए ।

उनले भने, ‘ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जाओस भने ।

जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी नापी सुरु गर्न, चर्को रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए ।

राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधानको व्यवस्था गर्न आवश्यक रहेको बताए । नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्को विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए ।

एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरे ।

रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दैै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगरियोस् भने ।

नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरिन् ।

नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे ।

रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए ।

सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तिर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जाओस भने ।

कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए ।

एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोबास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गर्नुभयो ।

जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भएपनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनवाइ गर्न ध्यानाकर्षण गराए ।

रास्वपाकी सोविता गौतमले काठमाडौँ क्षेत्र नं ३ मा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरिन् ।

नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलुक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताईन् ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिँचाइ हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस भनी माग गरे ।

रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै शेयर कारोबार गर्नेले हालसम्म रु १४ खर्ब गुमाइसकेकाले उनीहरुलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे ।

नेकपा (माओवादी केन्द्रका हितराज पाण्डे पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रन्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (माओवादी केन्द्र) का हितबहादुर तामाङले काठमाडौँ उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए ।

राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरिन् ।

माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता देखाउन सरकारसँग माग गरिन् ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरुप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको
बताए ।

प्रतिक्रिया दिनुहोस्