Logo
Logo

‘बन्चरेडाँडामा गिद्धहरुले मान्छेमाथि नै आक्रमण गर्न थाले’


1.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले उपत्यकाको फोहोर विसर्जनस्थल बन्चरेडाँडामा गिद्धहरुले मान्छेहरुलाई आक्रमण गर्ने अवस्था देखिएको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले बन्चरेडाँडा आसपासका मानवबस्तीमा झिँगा, कुकुर, स्याल, गिद्धहरुले आतंक सिर्जना गरिरहेको बताएकी हुन् ।

सांसद सुवेदीले संघ सरकार, काठमाडौं महानगरपालिकालगायत निकायले सहमतिबमोजिम उचित तबरले फोहोर व्यवस्थापन नगर्दा बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका बासिन्दा भयावह अवस्थामा बाँच्नुपरेको परेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएकी छन् ।

सांसद सुवेदीले भनिन्, ‘भर्खरैमात्र त्यहाँ गएका थियौं । अवस्था यति भयावह बनेको छ कि स्याल, गिद्ध, झिँगा, कुकुरहरुले मानवबस्तीमा आतंक सिर्जना गरिरहेका छन् । कुकुर, स्यालहरुले दिनदहाडै पशुचौपाया मार्नेमात्रै होइन, गिद्धहरुले मान्छेहरुलाई नै आक्रमण गर्ने अवस्था देखिएको छ ।’

उनले बन्चरेडाँडावासीले जस्तो पीडा कसैले भोग्नु नपरेको भन्दै त्यसको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘फोहोर र मान्छे एकै ठाउँमा बस्नु परेको स्थिति, त्यहाँबाहेक नेपालका अन्य ठाउँ र विश्वमै छैन । त्यसैले राज्यको यथाशीघ्र ध्यानाकर्षण होस् र तत्काल समस्या समाधान होस् ।’

प्रतिक्रिया दिनुहोस्