Logo
Logo

सत्ता गठबन्धनको बैठक भोलि मात्रै बस्ने


1.7k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच मंगलबार दिउँसो १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । भोलि दिउँसो ४ बजे गठबन्धन दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

६ गते संसदबाट दोस्रोपटक विश्वासको मत लिएर सरकार विस्तारको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । सो क्रममा उनले आज बिहान देउवा र नेपालसँग छलफल गरेका हुन् ।

दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ । साथै उनीहरुबीच मन्त्रिमण्डल विस्तार, संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्