Logo
Logo

भक्तपुर-नगरकोट सडक अलपत्र पारेपछि ठेक्का तोड्ने तयारी


504
Shares

काठमाडौं । सडक सुधार तथा विकास परियोजना निर्देशनालयले भक्तपुर–नगरकोट–सिपाघाट सडकखण्डको ठेक्का तोड्ने तयारी गरेको छ ।

भक्तपुर–नगरकोट सडक पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि निर्देशनालयले सार्वजनिक सूचना जारी गर्दै ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का तोड्न भनेको हो । ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन निर्देशनालयले निर्देशन समेत दिएको छ ।

कार्यालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ । उक्त सडक निर्माण गत पुस ३० भित्र पूरा भइसक्नुपर्ने थियो ।

कार्यालयले काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन र जेभीसँग भएको सम्झौताका प्रावधान तोकेर ठेक्का तोड्नलागेको हो । अब १४ दिनभित्र कार्यालयमा उपस्थित नभए ठेक्का तोड्ने प्रक्रिया अघि बढ्ने र आवश्यक कदम चालिने सूचनामा भनिएको छ ।

यो सडक ठेक्का लागेको वर्षौँसम्म काम सम्पन्न हुन सकेको छैन । पटक पटक म्याद थपको काम भने सरकारले गरिदिएको छ । यो सडकका ठेकेदार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारी हुन् ।

प्रचण्डको घरबेटी भएकै कारण उनले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको आलोचना हुँदै आएको थियो । १० वर्ष बित्दा पनि सडकको काम नभएपछि यहाँका स्थानीयबासी ठेकेदार अधिकारी र सरकारसँग आक्रोशित छन्।

प्रतिक्रिया दिनुहोस्