काठमाडौं । मधेस केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । तराई-मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले सोमबार लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको घोषणा गरेका हुन् ।

मोर्चाले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो ११ बुँदे साझा अवधारणा-पत्र सार्वजनिक गरेको छ ।
अवधारणा–पत्र सार्वजनिक गर्दै तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लालले मोर्चाले मधेस आन्दोलनका मुद्दाहरूमा केन्द्रित रहेर समसामयिक विषयहरूमा मधेसको सही प्रतिनिधित्व गर्ने बताए । उनले मधेसको मुद्दाको मसाललाई आफूहरुले अगाडी बढाउने बताए ।
मधेस आन्दोलनलाई अघि बढाउन मोर्चा गठन गरेको उनको भनाई छ । मोर्चाले राष्ट्रिय सभामा जनसंख्यामा आधारित प्रतिनिधित्व र संसदीय अभ्यासमा राष्ट्रिय सभाको समान भुमिका लगायतका विषयमा संविधान संशोधनको मागसमेत गरेको छ ।











