काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुन तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।
आज (मंगलबार) मिटरब्याज पीडितहरूको आन्दोलमा सहभागी हुन पुगेका पार्टीका सम्मानित नेता झलनाथ खनालले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

उनले आफ्नो पार्टीको हैसियत अनुसार मन्त्रालय दाबी गरिरहेका बताए । ‘हामीले जे हैसियत छ, त्यो अनुसार गरिरहेका छौँ । हामीसँग १८ वटा सांसद छन् । १८ सांसदमध्येबाट हामीले माग गरिरहेका छौँ,’ उनले भने, ‘हामीले तीनवटा मन्त्रालय माग गरेका छौँ । त्यो माग चाहिँ हाम्रो अडान हो भन्ने कुरा हामीले प्रधानमन्त्रीलाई भनेका छौँ ।’
नेता खनालले ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा व्यापकरूपमा पार्टी निर्माणमा लाग्ने पनि बताए । उनले भने, ‘मुख्य कुरा हामी पार्टी निमार्णमा लागेका छौँ । सरकारमा जाने र सरकारबाट गर्ने कुरा चाहिँ गौण कुरा हो । हामीले धेरै मन्त्रालय पनि पाउँदैनौं । पार्टी निर्माण गर्न ७७ जिल्ला र ७५३ वटै पालिकामा अब व्यापकरूपले लाग्छौँ ।’
घनश्याम भुसाल महासचिवमा भएपछि आम कार्यकर्तामा उत्साह जागेको पनि बताए । उनले नेकपा एमालेसँगै कुनै हालतमा सहर्काय नुहने र नीति मिल्नेसँग कार्यगत एकता गर्दै अगाडि बढ्ने पनि जानकारी दिए ।











