
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको बताएको छ । बुधबार बोर्डले आउँदो शुक्रबार १७ चैतदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदैछन् । जसमा २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् ।
परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रमा पठाइसकिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए । बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीले जापानबाटै परीक्षा दिन लागेका हुन् ।
एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ भने सबैभन्दा कम कर्णालीमा ४१ हजार ३२९ परीक्षार्थी र १७९ परीक्षा केन्द्र तोकिएको छ ।











