काठमाडौं, २१ कात्तिक ।
त्रिभुवन विश्वबिद्यालयमा डरलाग्दो धन्दा हुँदै आएको खुलेको छ । परीक्षामा फेल भएकाहरुको उत्तरपुस्तिका नै हेरफेर गराएर उत्तिर्ण गराउने धन्दा हुँदै आएको खुलेको हो । त्रिभुवन विश्वबिद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत कमल दाहाल र र उदयपुरको त्रियुगा क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरीलाई केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । आर्थिक चलखेलका आधारमा यसरी त्रिविमा उत्तरपुस्तिका साट्ने धन्दा चल्दै आएको खुलेको छ ।

त्रियुगाकी विद्यार्थीले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसन (३१४) को परीक्षा २० असार ०७५ मा दिइन् । गाईघाटकै बरुवा क्याम्पसकी (ख)ले व्यवस्थापन संकाय स्नातक दोस्रो वर्षको फन्डामेन्टल अफ मार्के्टिङ (२१४) को सोही वर्ष १५ साउन र फन्डामेन्टल अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट (२१६) को १७ साउनमा परीक्षा दिइन् । दुवैको परीक्षा केन्द्र परेको थियो त्रियुगा क्याम्पस ।
त्रयुगा क्याम्पसकै प्रशासन सहायक तेजनारायण चौधरीसँग आर्थिक डिल गरेर उनले पास हुने उपाय निकालेकी हुन
। पनिकाका लेखा अधिकृत कमल दाहालसँग उनको निकट सम्बन्ध थियो । दाहालले योजनामा साथ दिने विश्वास चौधरीलाई दिए । त्यसपछि चौधरीले दुवै छात्रालाई आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्रअनुसार नयाँ उत्तरपुस्तिकामा उत्तर लेख्न लगाएर साटेको खुलेको छ । यसमा ठूले गिरोह संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगा प्रवक्ता प्रदीप कोइरालाले बताए ।
यसअघि त्रिविमा गोल्ड मेडलकै किनबेच हुने गरेको खुलेको थियो । जसमा त्रिवि सेवा आयोगका सदस्यविरुद्ध नै मुद्दा दायर भएको थियो ।
कार्यकक्ष सर्दा पोल खुल्यो
केही महिनाअघि पनिकाका लेखा अधिकृत कमल दाहालको कार्यकक्ष परिवर्तन भयो । त्यतिवेला उनका फाइल अर्को कोठामा लानुपर्ने भयो । घुस खाएर परीक्षा पास गराइएका उदयपुरका दुई छात्राका सक्कली उत्तरपुस्तिका भने टेबुलको घर्राबाट निकाल्न बिर्सिए । नयाँ कर्मचारीलाई कार्यकक्ष व्यवस्थापन गर्ने क्रममा ती उत्तरपुस्तिका भेटिए । बदमासी भेटिएपछि गत भदौमा अख्तियारमा उजुरी र्पयो ।
अख्तियारले पनिकामा छापा हान्यो । कार्यालयको गोप्य शाखाबाट दुवै छात्राको उत्तरपुस्तिका बरामद र्गयो । ती कापीका नम्बर भने त्रियुगा क्याम्पसमै पुगिसकेको जानकारी पायो । अनुसन्धानपछि अख्तियारले घुस खाएर नक्कली उत्तरपुस्तिका लेखाई पास गराएको तथ्य फेला पारेको छ ।












