
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्नका लागि निर्वाचन ऐन ल्याउने भएको छ । सत्तारुढ गठबन्धनले तय गरेको सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका(प्रवासी) नेपालीलाई मतदान अधिकारको सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।
गठबन्धनले तयार गरेको नीति तथा कार्यक्रममा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने बताइएको छ ।
सत्तारुढ गठबन्धनको बुधबारको बैठकले नीति तथा कार्यक्रमलाई टुंगो लगाएर सार्वजनिक गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रम र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न गठबन्धनका दलहरू जुटेका छन् ।
गठबन्धनको आज बिहान बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बैठक पुन दिउँसो ३ बजे बस्ने तय भएको छ । गठबन्धनभित्र मनत्रालय बाँडफँड नमिल्दा सरकार विस्तार विषय लम्बिएको छ ।
सरकार गठनको लामो समय भइसक्दा पनि नीति तथा कार्यक्रम सार्वजनिक नगरेको तथा मन्त्रिपरिषद् विस्तारसम्म गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला गठबन्धनले त्यस विषयमा छलफललाई तीव्रता दिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज या भोलीसम्ममा मनत्रीपरिषद विस्तारलाई पुर्णता दिने तयारी गरेको छ ।











