काठमाडौं । प्रतिनिधिसभाको बैठकमा फरार सांसद लक्ष्मी महतो कोइरीको खोजी भएको छ । बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद महतोको खोजी गरेका हुन् ।

उनले भने, ‘आज प्रतिनिधिसभाको १७ औं बैठक चलिराखेको छ । लगातार १० पटकसम्म उपस्थित नहुँदा सांसद पद खाली हुन्छ भन्ने नियमावलीमा उल्लेख भएको सुनेको थिएँ, एक जना सांसद सभामुखलाई जानकारी दिएर हो कि, जानकारी नदिइकन हो, धेरै पटकदेखि संसदमा देखिएको छैन ।’
संसद बाहिर पनि चहलपहल नदेखिएको भन्दै सांसद खतिवडाले महतोको खोजी गरेका हुन् । खतिवडाले भने , ‘महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ । सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ ।’
खतिवडाले प्रश्न गरेका बेला सभामुख देवराज घिमिरे सभामुखको आसनमा थिएनन् । एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सदन चलाइरहेका थिए । उनले खतिवडालाई जवाफ दिए, ‘ध्यानाकर्षणको लागि माननीयज्यूलाई धन्यवाद ।’











