
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन् । बुधबार बसेको सतता गठबन्धन बैठकमा मन्त्रालय भागबण्डा टुंगिएपछि प्रधानमन्त्रीले आज मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका हुन् ।
साधन र स्रोतको उपलब्धताका हिसाबले आकर्षक मानिने केही विकासे मन्त्रालयमा दलहरूबीच दोहोरो–तेहरो दाबी रहेकाले लामो समयदेखि सरकारले पूर्णता पाउन सकेको थिएन ।
भागबण्डाअनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई २–२ मन्त्रालय दिने सहमति भएको छ ।
लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले १÷१ वटा मन्त्रलय लिने सहमति भएको माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने छ । कुन मन्त्रालय कसलाई दिने भन्नेबारे भने सहमति जुटिसकेको छैन ।
माओवादी नेता श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ । उनले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एकीकृत समाजवादीलाई दिन प्रधानमन्त्री सकारात्मक छन् ।
गृहमा माओवादीकै अर्का नेता शक्ति बस्नेतको पनि दाबी छ । एकीकृत समाजवादीलाई अर्को मन्त्रालय कुन दिने भन्नेमा सहमति भइसकेको छैन । प्रधानमन्त्री प्रचण्डले शिक्षा र कृषिमध्ये एक मन्त्रालय दिने प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीले बेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ ।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने भएको छ । कांग्रेसले सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एक पाउनुपर्ने अडान राखेको छ । यी दुई मन्त्रालयमा माओवादी र अन्य साना दलको पनि दाबी छ ।
कांग्रेसको भागमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुदमध्ये एक पर्न सक्ने सम्भावना छ ।
कांग्रेसले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीबाट सरकारको नेतृत्व गरेर पठाउने भएको छ । तर, अर्थ मन्त्रालयको जिम्मेवारी पार्टी प्रवक्ता प्रकाशशरण महतले पाउने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महतलाई अर्थको जिम्मेवारी दिने वचन दिइसकेको कांग्रेस नेताहरू बताउँछन् । खड्काले पनि सोही मन्त्रालयमा दाबी गर्दै आएका थिए । उनी उपप्रधानसहित रक्षा मन्त्रालय लिएर सरकारमा सहभागी हुन सक्ने सम्भावना छ ।
गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार नयाँ मन्त्रीहरुको शपथ आजै गराउने तयारी छ ।











