काठमाडौं । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते चितवनमा हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि उनले यस्तो दावी गरेका हुन् ।

बिहीबार केन्द्रीय कार्यसम्पादनको बैठकले नेता श्रेष्ठलाई चितवन २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यससँगै सञ्चारकर्मीसँगको कुराकानीमा उनले अब त्यो मंसिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरे ।
नेता श्रेष्ठले भने, ‘सत्ता साझेदार दलहरुको साझा उम्मेदवार म हुन्छु भन्ने कुरामा विश्वस्त छु । तत्कालीन उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्थ्यो, उहाँले प्रचारबाजी गर्नुभयो । फण्डाहरु दिनुभयो, त्यो फण्डामा एक पटक होकि त भनेर चितवनका जनताहरु झुक्किएको अवस्था थियो । अहिले पूर्णरुपमा उसका गतिविधिबाट राम्रोसँग उसको वास्तविकता बुझे । नाकको डाँडी भाच्ने भन्नेले जनताले बुझेका छन् ।’
सभापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारण जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको उनले बताए ।
‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्’ उनले भने, ‘कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउनु नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ । यो उपनिर्वाचनमा मंसिरको भन्दा उल्टो परिणाम आउनेछ ।’











