Logo
Logo

‘बलिदान दिन तयार छौँ, तर कोशी प्रदेश मान्दैनौँ’


14.6k
Shares

काठमाडौं । लिम्बू विद्यार्थी मञ्चकी केन्द्रीय अध्यक्ष दीपा लक्सम लिम्बूले कोशी प्रदेशको नाम खारेज नभएसम्म आन्दोलन नरोकिने बताएकी छन् । लिम्बू विद्यार्थी मञ्चले सुरुदेखि नै प्रदेश १ को नाम सभ्यता र पहिचानको आधारमा हुनुपर्ने माग गर्दै आएको भन्दै उनले कोशी नाम खारेज हुनुपर्ने बताएकी हुन् ।

प्रदेशसभाले प्रदेश १ को ‘कोशी प्रदेश’ नामाकरण गरेका विमति जनाउँदै आएको मञ्च पुनः नामांकन संयुक्त संघर्ष समितिमार्फत कोशी प्रदेश नामांकनविरुद्ध आन्दोलनमा होमिएको छ ।

लिम्बू विद्यार्थी मञ्चले आफ्नो २५औँ स्थापना दिवशसमेत कोशी प्रदेश खारेज गर्न माग गर्दै सडकमा मनाएको थियो । पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम पहिचानको आधारमा ‘लिम्बूवान किरात’ हुुनुपर्ने माग गर्दै चरमवद्ध आन्दोलन गरिरहेको छ ।

‘हाम्रो सभ्यता र पहिचान मास्न खोजिएको छ’ अध्यक्ष लिम्बूले भनिन्, ‘लिम्बूवान हाम्रो सभ्यतामात्र नभएर मौलिक अधिकार पनि हो । त्यसैले कोशी प्रदेश नाम हामी कदापि मान्न तयार छैनौँ ।’ उनले सभ्यता र पहिचानका आधारमा प्रदेश १ को नाम ‘लिम्बूवान किरात’ हुनुपर्ने बताइन् ।

अध्यक्ष लिम्बूले पहिचानको आन्दोलनलाई ठूला राजनीति दल भनिएकाहरुले ‘जातीयता’को संज्ञा दिएर आन्दोलनलाई असफल पार्न षडयन्त्र गरिरहेको समेत आरोप लगाइन् ।

उनले भनिन्, ‘ठूला दल भनिएकाहरुले जातीयताको संज्ञा दिएर हाम्रो आन्दोलनलाई भाड्ने र असफल बनाउने षडयन्त्र गरिहेका छन् । तर, हामी सयंमित छौँ । हामीले जातीयताको आन्दोलन गरेका होइनौँ । हाम्रो आन्दोलन पहिचान, सभ्ययता र मौलिक अधिकारका लागि हो । हाम्रो माग सम्बोधन नभएसम्म यो आन्दोलन रोक्ने छैनौँ ।’

उनले आफ्नो अधिकार स्थापित गर्न पहिचानवादीहरु ज्यान बलिदान दिन समेत तयार रहेको बताइन् । ‘हामीहरु दबेका छौँ, अब सधैं हामी दविन चाहन्नौँ’ उनले भनिन्, ‘लोकतन्त्रमा आफ्नो हक अधिकार माग्न पाइन्छ । हामीले छुट्टै राज्य मागेका होइनौँ, पहिचानको आधारमा प्रदेशको नामांकन गर्न प्रदेश र संघसँग आग्रह गरेको हौँ ।’

पहिचानवादीको आन्दोलनलाई केन्द्रीय र प्रदेश सरकारले सम्बोधन गर्न ढिलो गर्न नहुने समेत उनले बताइन् । अध्यक्ष लिम्बूले भनिन्, ‘हाम्रो मागलाई सरकारले जजिसक्दो सम्बोधन गर्नुपर्छ र, पहिचान पक्षधरलाई न्याय दिएर सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्