काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने चर्चा चलेको छ ।
रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले उनलाई पार्टीले तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरिरहेको औपचारिक जानकारी दिएका छन् ।

उनी रास्वपामा जान लागेको चर्चा चलेपछि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उनलाई रोक्न प्रयास थालेका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि दुई महामन्त्री उनलाई रोक्ने प्रयासमा लागेका हुन् ।
वाग्लेलाई गुमाउन नहुने भन्दै महामन्त्रीहरुले सम्भावित विकल्प र अरु अवसरहरुबारे समेत कुरा गर्न लागिपरेका छन् । दुवै महामन्त्रीले आज वाग्लेलाई छलफलका लागि पार्टी कार्यालयमा सानेपामा छलफलका लागि बोलाएका थिए । तर, उनी उपस्थित भएनन् । वाग्ले भने मोबाइल बन्द बसेका छन् ।
वाग्लेले ४ मंसिरको चुनावमा कांग्रेसको चुनाव घोषणापत्र तयारी समितिमा रहेर काम गरेका थिए । उनी त्यतिबेला कांग्रेसबाटै चितवन र काठमाडौंमध्ये एक ठाउँबाट चुनाव लड्ने चाहनामा थिए, तर सभापति शेरबहादुर देउवाले उनलाई प्राथमिकता दिएका थिएनन् ।











