Logo
Logo

धरानमा कोशी प्रदेश लेखिएको डिजिटल बोर्ड क्षतिग्रस्त


1.1k
Shares

काठमाडौं । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले विहिबार धरानका उपमहानगरपालिका र वडा कार्यालयहरुमा ताला लगाएको छ ।

उनीहरुले कोशी प्रदेश लेखिएको स्टाम्प समेत गेट अघि जलाएका थिए । भने वडा नम्बर ५, वडा १०, वडा नम्बर १५, वडा नं १२ लगायतमा पनि आन्दोलनकारीहरुले ताला लगाएका छन् । उनीहरुले धरानका सबै वडा कार्यालयहरुमा ताला लगाउने अभियान चलाएको जनाएको छ ।

यस्तै, पहिचान पक्षधरहरुले धरानको वडा नम्बर १० मा तोडफोड समेत गरेका छन् । उनीहरुले धरानको वडा नम्बर १० मा कोशी प्रदेश लेखिएको डिजिटल बोर्ड तोडफोड गरेका हुन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरुले त्यसको विरोध गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् ।
५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

पहिचान पक्षधरले चैत्र २५ गतेपछि निर्णायक आन्दोलन गर्ने पनि निर्णय गरेको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय गरेको हो ।

समितिको बुधवार बसेको जुम बैठकले चलिरहेको एसइई परीक्षालाई मध्यनजर गर्दै त्यसअगाडि कुनै पनि सार्वजनिक प्रदर्शनका कार्यक्रम नराख्ने निर्णय गरेको छ ।

‘२०७९ चैत १७ देखि २५ गतेसम्म एसइई परीक्षालाई ध्यानमा राखी तालाबन्दी र ठुलो विरोध जुलुस र सभाहरू स्थगित गर्ने । तर, सो समयमा नियमित आन्दोलनका कार्यक्रमहरू जारी राख्ने निर्णय भएको समितिका नेता अर्जुन जम्नेली राइले बताए । बैठकले सरकारले सहिद घोषणा र क्षतिपूर्तिको सुनिश्चित नगरेसम्म लाजेहाङको शव पोस्टमार्टम गर्न नदिने, उनलाई सहिद घोषणा गर्न सरकारलाई दबाब सिर्जना जारी राख्ने निर्णय पनि गरेको छ ।

पहिचान पक्षधरले आगामी चैत २५ गतेपछि भने निर्णायक आन्दोलन गर्ने तयारी गरेको छ । चैत २५ अगाडि भने मानवअधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ, र विदेशी नियोगहरूमा ध्यानाकर्षण गराउने, विभिन्न साहित्यिक कार्यक्रम गर्ने, गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी राख्ने र साझा नामको बहस समेत प्रारम्भ गर्ने निर्णय गरेको निर्णय भएको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्