काठमाडौं । आज पनि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून हुँदै गएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको लागि अन्तिम तयारी गरेपनि सत्ता गठबन्धनको बैठक बस्न नसक्दा मन्त्रपरिषद् विस्तारको सम्भावना टर्दै गएको हो । अहिलेसम्म गठबन्धनभित्र कुन दलले कुन–कुन मन्त्रालय पाउने टुंगो लाग्न सकेको छैन ।

आज दिउँसो दुई बजे बस्ने भनिएको सत्ता गठबन्धनको निर्णायक बैठक अहिले (साँझ ६ बजे) सम्म पनि बस्न सकेको छैन । गठबन्धका केही नेताहरूले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपनि अहिलेसम्म संयुक्त बैठक बस्न सकेको छैन ।
मन्त्रिपरिषद् विस्तार गरेर दिउसो चार बजे नै नयाँ मन्त्रीहरूलाई शपथ खुवाउने प्रधानमन्त्री प्रचण्डको तयारी थियो । त्यसको लागि आज बिहान सत्ता गठबन्धनबीच छलफल भएको थियो ।
तर, प्रधानमन्त्री प्रचण्ड चितवन जानैपर्ने भएकाले बैठक जारी हुँदै त्यसतर्फ लागेका थिए । भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासलगायत विभिन्न कार्यक्रमका लागि प्रधानमन्त्री प्रचण्ड चितवन गएका हुन् ।
टर्मिनल भवनको शिलान्यासपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले एक/दुई वटा मन्त्रालयको मात्रै टुंगो लाग्न बाँकी रहेको र आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । उनले भनेका थिए- ‘यहाँबाट फर्किएलगत्तै बाँकी कुरा टुंग्याएर मन्त्रिपरिषद् विस्तार हुन्छ । आजै शपथ गराउने तयारी छ । आज नभ्याए भोलि हुन्छ ।’
चितवनबाट केही ढिलागरि प्रधानमन्त्री प्रचण्ड काठमाडौं फर्किएपनि सत्ता गठबन्धनको बैठक बस्न नसक्दा आज पनि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून हुँदै गएको हो ।











