Logo
Logo

यी हुन आज शपथ खाने मन्त्रीहरु


6.5k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गर्दैछन् । उनले आज सत्ता गठबन्धनका दलहरुलाई समेटेर सातौंपटक मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

लामो समयदेखि १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ । प्रधानमन्त्रीको प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नयाँ बन्ने मन्त्रीहरुको शपथ आज ३ बजे तय भएको छ ।

९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले सबैभन्दा बढी ८ मन्त्रालय पाएको छ । तर, आज कांग्रेसबाट ४ जना मात्रै मन्त्रीले शपथ लिने तय भएको छ ।

जसमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् । त्यस्तै पार्टी प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् भने रमेश रिजाल परराष्ट्र मन्त्री बन्दा सिता गुरुङ शहरी विकास मन्त्री बन्ने भएका छन् ।

यता नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । यस्तै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम हुनेछन् ।

यस्तै सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।

यस्तै एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेछन् । यता जसपाबाट अकोश राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।

नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने भएका छन् । बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्दैछन् ।

यस्तै अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका छन् । उनी जनमतबाट यसअघि खानेपानी मन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्