काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाको अवधिमा सातौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले १२ जना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

यससँगै प्रधानमन्त्री प्रचण्डको राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद बनेको छ । प्रधानमन्त्री प्रचण्डले १२ जना मन्त्री थप्दा सुशीला श्रीपाली ठकुरीलाई पर्यटन राज्यमन्त्री बनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको १७ सदस्यीय मन्त्रिपरिषदमा राज्यमन्त्रीसहित चार जनामात्र महिला परेका छन् । जसमा नेपाली कांग्रेसबाट सीता गुरुङ सहरी विकासमन्त्री, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी भूमी व्यवस्था मन्त्री र नेकपा माओवादी केन्द्रकी रेखा शर्मा सञ्चारमन्त्री रहेका छन् । रेखा शर्मा यसअघि नै सञ्चारमन्त्री थिइन् । प्रधानमन्त्री प्रचण्डले उनलाई सञ्चारमै यथायत राखेका हुन् ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष पहिलोपटक मन्त्री बनेका हुन् । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुँदै गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा कैलाली १ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।











