काठमाडौं । प्रदेश १ को पुनः नामांकनको माग गर्दै पहिचान पक्षधरले काठमाडौंमा संघीय मार्च गरेको छ । पहिचान पक्षधरको आन्दोलनमा बृहत् नागरिक आन्दोलनले एक्यवद्धता जनाउँदै संघीय मार्च गरेको हो ।

प्रदेशसभाले प्रदेश १ को कोशी नामांकन गरेपछि त्यसको खारेजी तथा पहिचानसहितको पुनः नामांकनको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले शुक्रबार काठमाडौंको माइतीघर मण्डलादेखि संघीय संसद भवन नयाँ बानेश्वरसम्म संघीय माच गरेको हो ।
शुक्रबार बृहत् नागरिक आन्दोलन प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति किराँत याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्य समिति लगायतका पहिचानवादी संघसंगठनले संयुक्त रूपमा मार्च गरेका हुन् ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरुले त्यसको विरोध गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

उनीहरुले पहिचानवादीहरू एक होऔं, प्रदेशको नाम कोशी खारेजीको माग र आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा माग गरेका थिए । कोशी प्रदेशको नाम आफूहरूलाई स्विकार नहुने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उक्त आन्दोलनलाई वृहत् नागरिक आन्दोलनले पनि समर्थन गरेको हो ।

प्रदेश १ को नाम कोशी राखेपछि केही दिन अघी कोशी प्रदेशको राजधानी विराटनगरमा प्रहरी र पहिचान पक्षधरहरूको झडप भएको थियो भने केही आन्दोलनकारी घाईते समेत भएका थिए । काठमाडौंमा पनि पहिचान पक्षधरहरुले विरोध जारी राखेका छन् ।

आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले चैत २५ गतेपछि विराटनगरमा निर्णायक आन्दोलन गर्ने निर्णय समेत गरिसकेको छ ।
समितिको बुधवार बसेको जुम बैठकले चलिरहेको एसइई परीक्षालाई मध्यनजर गर्दै त्यसअगाडि कुनै पनि सार्वजनिक प्रदर्शनका कार्यक्रम नराख्ने निर्णय गरेको हो ।

चैत २५ अगाडि भने मानवअधिकार आयोग, संयुक्त राष्ट्रसङ्घ, र विदेशी नियोगहरूमा ध्यानाकर्षण गराउने, विभिन्न साहित्यिक कार्यक्रम गर्ने, गाउँ र जिल्ला जागरणका कार्यक्रम गर्ने, सामान्य खालका सांसद अवरोध र बहिष्कार जारी राख्ने र साझा नामको बहस समेत प्रारम्भ गर्ने निर्णय गरेको निर्णय भएको संघर्ष समितिले जनाएको छ ।

















