काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नुपर्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अर्थतन्त्रलाई चलायमान गर्न आफू सक्रियरुपमा लाग्ने बताए ।

अर्थमन्त्री महतले अहिले राजस्वले चालु खर्चसमेत नधान्ने अवस्था रहेको बताउँदै राजस्व संकलनलाई उच्च प्राथमिकता दिने बताए । उनले भने, ‘त्यसका लागि साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेरमात्रै सरकारले खर्च गर्नेछ ।’
हाल सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अर्थतन्त्रका समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरु खोजेर अघि बढ्ने बताए ।
अर्थमन्त्री महतले भने, ‘माइक्रोफाइनान्स तथा सहकारीमा जुन समस्या देखिएका छन्, राष्ट्र बैंकसँग समन्वय गरी अघि बढ्नु आवश्यक छ । ब्याजदर उच्च छ, सेयर बजार झरेको छ, यो निराशालाई आशामा बदल्नुपर्नेछ ।’
अर्थतन्त्रका समस्या समाधानका लागि आफू एक्लैले मात्रै नभई सम्पूर्ण रुपमा मन्त्रालयको टिमले साथ दिनुपर्ने उनले बताए । आर्थिक क्षेत्रमा क्रियाशील उद्यमी, गैरआवासीय नेपाली, व्यवसायी सबैलाई समेटेर सकारात्मक वातावरण बनाउनुपर्ने उनले आवश्यकता औंल्याए ।











