
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो सहमतिमा डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको बताएका छन्।
आज (शनिबार) ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेर रक्षामन्त्री खड्काले बाहिर आएजस्तो अर्थमा कुनै विमति नरहेको बताउँदै आफ्नो समेत सहमतिमा महतलाई अर्थको जिम्मेवरी दिएको बताएका हुन् ।
‘अर्थ मन्त्रालयमा सभापतिले निर्णय गर्नुभयो, मेरो समेत सहमतिमा, कहीँ पनि प्रकाशजी, मेरो र सभापतिबीच कुनै विमति छैन्। बाहिर धेरै कुराहरू आए। म प्रस्टसँग भन्न चाहन्छु– मेरोसमेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता ड। प्रकाशशरण महतलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ, त्यसमा मेरो सम्पूर्ण रूपमा सहमति छ,’ उनले भने।
नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले पाँच दिन अध्ययन गरेपछि आफू रक्षाको जिम्मेवारी लिन तयार भएको बताए । उनले आफूलाई सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ मध्ये एउटा मन्त्रालय रोज्न अवसर दिएको बताए ।
‘सभापतिजीले अर्थ मन्त्रालयको टुंगो लगाइसकेपछि १९ वटा मन्त्रालय बाँकी छन् कुन रोज्नुहुन्छ भन्नुभयो। मैले १९ वटा मन्त्रालयको अध्ययन गरेर मुलुकको सन्दर्भ, सुरक्षा र नेपालको भूमिका सामरिक महत्वको सन्दर्भमा नेपाली सेनासँग जोडिएको ठूलो मन्त्रालय रक्षा देखें मैले नेताहरूलाई रक्षामा जान्छु भनें। मन्त्रालयको विषयमा कुनै दुविधा नरहोस्। मैले सात दिनको अध्यक्षपछि रोजेको मन्त्रालय हो। १९ मन्त्रालयको छनौटको सौभाग्य पाएको छु। त्यो भन्दा मलाई के प्राप्ति चाहियो ?,’ उनले भने ।











