तनहुँ । यही बैशाख १९ गते तनहुँ क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । जिल्ला समन्वय समिति तनहुँ परिसरमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आर्चाय खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनको प्रक्रिया सुरु भएको आचार्यले बताए । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि १० वैशाखमा उपनिर्वाचन हुन लागेको हो ।
नेपाली काग्रेसले यो क्षेत्रमा केन्द्रीय सदस्य गोविन्द भटराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेकपा एमालेले नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने आजै निर्णय गरेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ । नेपाली कांग्रेस परित्याग गर्दै रास्वपामा प्रवेश गरेका वाग्लेलाई शनिबार पत्रकार सम्मेलन गर्दै तनहुँ १ का लागि उम्मेदवार घोषणा गरेको हो । नेकपा एकीकृत समाजवादीले यसअघि नै केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठलाई उठाउने निर्णय गरिसकेको छ ।











