काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू मूलबाटोबाटै निर्वाचन लड्न लागेको बताएका छन् । बारा २ मा गठबन्धनका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवारी दिने तयारीमा जसपा अध्यक्ष यादव उम्मेदवारी दर्ताका लागि आइतबार बारा पुगेका थिए । त्यस क्रममा अध्यक्ष यादवले वातावरण अत्यन्त उत्साह वर्द्धक र राम्रो रहेकाले आफूले जित्ने निश्चित रहेको बताए ।

‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ–आफ्नो तयारीमा लागिसक्नुभएको छ । हाम्रो पार्टी पनि उपनिर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ । चुनावको तयारीमा लागिसकियो, जनताका बीचमा पुग्न थालिसकियो । गठबन्धनमा रहेका र बाहिर भएकाहरूको पनि हामीलाई मत आउँछ भन्नेमा म विश्वस्त छु’, उनले भने ।
यस्तै, अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतले चोर बाटोबाट आएको भनेर लगाएको आरोपको यादवले प्रतिवाद गरे । ‘म चोर बाटो होइन, नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन । झन्डा उठाएर अघि बढेका छौँ । हामी मूलबाटोबाटै आइरहेका छौ’, अध्यक्ष यादवले भने ।











