काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले पहिचान पक्षधरको आन्दोलनलाई सरकारले वार्तामार्फत चाँडो समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा संघीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले लोकतन्त्रमा अधिकारका निम्ति शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाइने पनि बताए ।
‘लोकतन्त्रमा अधिकारका निम्ति शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाइन्छ, सरकारको निर्णयलाई सबैले शिरोधार्य गरेर हिँड्नपर्छ भन्ने कुरा हुँदैन’, उनले भने, ‘लोकतन्त्रमा आफ्नो असहमति जनाउन पाइन्छ ।’
यस्तै, मन्त्री राईले प्रदेश-१ मा सरकारलाई समर्थन दिने वा नदिने प्रदेशस्तरमै निर्णय हुने संकेत गरे । प्रदेश छुट्टै अस्तित्व भएको निकाय भएको भन्दै उनले भने- ‘प्रदेश भनेको छुट्टै आफ्नो अस्तित्व भएको सरकार हो नि, आफ्नो छुट्टै अस्तित्व भएको निकाय हो । स्थानीय तहको सरकारमा फरक ढंगको गठबन्धन होला, प्रदेशमा फरक ढंगको गठबन्धन होला, केन्द्रमा फरक ढंगबाट होला, यो केन्द्रको मातहतको इकाई त होइन नि ।’











