काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समूहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो ।

सो समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफू पुनः सोही समूहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
यस्तै, वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । उक्त समूहले सोमबार पदाधिकारीको मात्रै टीम घोषणा गर्ने उमेशलाल श्रेष्ठले बताए ।
हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समुहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाईसकेको सो समुहले मनोनयम दर्ता पछि मात्रै सदस्यहरु समितको टीम घोषणा गर्ने भएको छ ।
‘हामीले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र सदस्यहरु सबै सहितको टीम बनाइसकेका छौँ’ सो समूहका एक जिम्मेवार व्यक्तिले भने, ‘तर सोमबार वरिष्ठ उपाध्यक्ष र क्षेत्रगत उपाध्यक्षको मात्रै उम्मेदावारी घोषणा गर्दैछौं ।’
सो समूहले सदस्यहरुको भने मनोनयन दर्ता पनि सदस्यहरुको टीम सार्वजनिक गर्ने जानकारी दिइएको छ । महासंघको विधानअनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएट्सबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन् ।
‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं,’ उक्त समूहले भन्यो ।
जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मूल नाराका साथ उम्मेदवारी दिन लागेको समेत समूहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ । अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएर काम गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको उमेशलाल श्रेष्ठले बताएका छन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहलाई महासंघको पूर्वअध्यक्ष चण्डीराज ढकाल, विनोदबहादुर श्रेष्ठ, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्वउपाध्यक्ष किशोर प्रधानको समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै, महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफूलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।











