
कामाठाडौं । मधेशी आयोगले विगत एक दशकदेखी हालसम्म विभिन्न धर्मसंग सम्बन्धित मुद्दाहरुलाई सम्बोधन तथा अनुसन्धान गर्नको लागि एक स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको छ ।
आयोगले विगत एक दशक देखी नेपालको रौतहट, सुनसरी, धनुषा, महोत्तरी, कपिलवस्तु लगायत विभिन्न क्षेत्रहरुमा कलश यात्रा, मुर्ति सेलाउने, सरस्वती पुजा, रामनवमीको अवसरमा हुने गरेको धार्मिक यात्रा कुनै अर्को धर्मावलम्बीको क्षेत्रमा जान वित्तिकै विभिन्न किसिमले आक्रमण हुने तथा हत्यासमेत भएको घटनालाई लिएर अनुसन्धान गर्नका लागि स्वतन्त्र न्यायिक आयोग गर्न सरकारलाई सिफारिस गरेको हो ।
आयोगका सचिव रुद्र लामिछानेले विज्ञप्तिमार्फत धार्मिक हिंसाका नाममा कपिलवस्तुमा हत्या समेत भएको बताउदै त्यस्ता संवेदनशील घटनाहरुले धार्मिक भावना माथि ठेस पुर्याउने, सामाजिक सदभावमा खलल आउने तथा मुलुककै शान्ति सुरक्षामाथि प्रश्न खडा गर्ने भएकोले त्यस्ता घटनाहरुको सुक्ष्म छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
उनले पदीय दायित्व वहन गर्ने पदाधिकारीहरुबाट धार्मिक हिँसा भड्काउने खाले भाषण सम्बन्धी आयोगमा विभिन्न उजुरी दर्ता भएकोले सो पदाधिकारीहरु माथि पनि आवश्यक कारवाहीको लागि तिनै तहका सरकारले जागरुकता देखाउन आवश्यक रहेको बताएका छन् ।











